डा. सबिन साहु
बरिष्ठ नेत्ररोग बिषेशज्ञ तथा अकुलोप्लास्टी सर्जन
बिर्ता आई केयेर, बिर्तामोड, झापा
भूतपूर्व ट्रेनिंग ईन्चार्ज,
सगरमाथा चौधरी आँखा अस्पताल, लहान
पुस्तक समिक्षा
बिगत लामो समय देखी आँखा सेवालाई आफ्नो मुख्य पेशा बनाउदै आउनु भएका नारायण थापाद्वारा लिखित तथा सोहि पेशामा आफ्नो जीवन बिताउनु भएका बिमल कुमार पौड्याल तथा प्राध्यापन पेशा अंगाली नेपाली भाषामा राम्रो दखल पुर्याउनु भएका प्रा. डा. केदार न्यौपाने द्वारा सम्पादित “आँखा स्वास्थ्य एक अध्ययन” नामक पुस्तक, आँखामा लाग्ने विभिन्न रोगहरुको समग्र जानकारी, आँखा रोगको निदान तथा उपचारमा प्रयोग हुने औषधीहरु, स्वस्थ आँखाको पहिचान तथा आँखाको हेरचाह गर्ने उपायहरु जस्ता महत्वपुर्ण बिषयबस्तुमा केन्द्रित रही सरल नेपाली भाषामा लेखिएको पुस्तक हो I
हालसम्म नेपाली भाषामा आँखा स्वास्थ्य सम्बन्धि पुस्तकहरु त्यति धेरै प्रकाशित भएका छैनन् र प्रकाशित केहि पुस्तकहरु पनि पर्याप्त नभएको तितो यथार्थ हामी सामु छर्लंगै छ I पूर्व प्रकाशित कृतिहरुले नसमेटेका बिषयबस्तुहरु पनि एस पुस्तकमा समग्रमा समेटिएका छन् I लेखक स्वयम् को कार्य अनुभब तथा तालिमबाट प्राप्त सिपको आधारमा लेखिएको भएकाले पनि यो पुस्तक निकै सरल र सजिलै बुझिने भाषामा रहेको छ I
यो पुस्तक आँखा विषयमा अध्ययन गर्दै आएका वा गर्न चाहने बिद्यार्थीहरु, अन्धोपन निवारणमा लागेका समाजसेवीहरु तथा अन्य सर्बसाधारण जिज्ञासुहरुको लागी समेत उपयुक्त रहेको छ I खासगरी आँखा स्वास्थ्य कार्यकर्ताहरु, ६ महिने तालिम तथा एड्वांस तालिम गरिरहनु भएकाहरुलाई सि.टि.ई.भी. टि. परीक्षाको लागी सहयोगी हुने गरी पुराना प्रश्न पत्रहरु समेत यसमा समावेश गरिएका छन् I
पुस्तकको स्तरीयता, प्रयोग गरिएको कागजको स्तर हेरी पुस्तकको तोकिएको मूल्य सर्वसुलभ नै रहेको छ I पुस्तकको प्रमुख श्रोतको रुपमा लेखकको आफ्नै अनुभव, सीप रहे पनि अन्य स्वदेशी तथा बिदेशी लेखकहरुद्वारा लिखित तथा प्रकाशित पुस्तकहरुलाई श्रोतको रुपमा पुस्तकको अन्तिम पृष्ठमा उल्लेख गरिएको छ I
पुस्तकमा कतिपय प्राविधिक शब्दहरुको परिचय नहुनु, कुनै कुनै शिर्षकहरु बिस्तारमा उल्लेखित नहुनु, सानोतिनो त्रुटीहरु हुनु जस्ता केहि खट्किने कुराहरु भएतापनि यसको सम्बोधन आगामी संस्करणमा हुने अपेक्षा राख्न सकिन्छ I नेपाली भाषामा आँखा स्वास्थ्य सम्बन्धि यति सरल र उत्कृष्ट पुस्तक प्रकाशन गर्नु भएकोमा लेखक नारायण थापालाई धन्यवाद र एस पुस्तकले भबिष्यमा अन्य लेखकहरुलाई पनि मार्ग प्रदर्शन हुने कुरामा विश्वास राख्दछु I


0 Comments