Subscribe Us

Header Ads

बिबी सर : मानवताका सरल पात्र

धनकुटा गौरव १ 

धनकुटा वैभवपूर्ण अतीत भएको नेपालको एक महङ्खवपूर्ण ऐतिहासिक स्थान हो । यस क्षेत्रको महङ्खव र गरिमा बढाउन विभिन्न व्यक्तिहरूको उल्लेख्य योगदान रहेको छ । धनकुटाको पहिचान, विकास र छवि उजागर गर्ने विशिष्ट व्यक्तिहरूको योगदान विषयमा ठाकुर बरालजीले अनुसन्धान गरी ग्रन्थहरू प्रकाशित गर्दै हुनुहुन्छ । उहाँको कार्यको सराहना गर्दै धनकुटाबासीले आफ्नो जन्मस्थलका विविध क्षेत्रको अध्ययन तथा अनुसन्धानमा ध्यान दिन ढिला भइसकेको अनुभूति हुन थालेको छ । हाल कोरोनाजीको कृपाले घरमै बन्दी भएर थच्चिन बाध्य भएको छु । यी फुर्सदिला दिनमा पुराना सम्झनाहरू पुनः ताजा भएर आउन थालेका छन् । बितेका दिन सम्झदा बिबी सरको भूगोल र इतिहास जहिले पनि उपस्थित हुन्छ । यसै सन्दर्भमा धनकुटाको शैक्षिक विकास एवम् स्थानीयको व्यक्तित्व विकासमा श्रद्धेय बिबी सरको योगदानको संस्मरणमा प्रस्तुत आलेख तयार भएको छ ।

बिबी सरको जन्म विसं १९८० मा भएको थियो । उहाँले २००१ सालदेखि नै गोकुण्डेश्वर कुलमा पढाउन थाल्नुभएको थियो । नेपालको शैक्षिक इतिहासमा यस स्कुलको योगदान उल्लेख्य रहेको छ । बिबी सर र गोकुण्डेश्वर स्कुल एकअर्काका पर्यावाची बन्न पुगेका छन् । हुन पनि बिबी सरलाई पृथक् गरेमा यस स्कुलको इतिहास अपुरो हुनेछ । हुन त सरप्रतिका यी मेरा निजी दृष्टिकोण हुन् । सबैको दृष्टिकोण त्यही नहुन पनि सक्ला । फेरि मेरो अभिमतबाट सरको समुचित र वस्तुनिष्ठ मूल्याङ्कन नहुन पनि सक्छ । कताकता अवमूल्यन हुने पो हो कि भन्ने आशंका पनि छ । तर, आफ्ना शिष्यलाई सदैव माफी दिने बिबी सरप्रति नतमस्तक हुँदै यो लेख उहाँलाई नै समर्पण गर्दछु ।

बिबी सरका पुर्खा ललितपुरबाट धनकुटा पुगेको थाहा हुन्छ तर कुन सिलसिलामा हो भन्ने चाहिँ यकिन भएको छैन । धनकुटा बजारमा बसोबास गर्नेमध्ये अधिकांश काठमाडौँ उपत्यकाको भक्तपुरबाट व्यापारको सिलसिलामा त्यहाँ पुगी उतै बसोबास गर्नेहरू रहेको दृष्टान्त पाइन्छ । यसैगरी जागिरको सिलसिलामा धनकुटा गएका, राजधानीबाट निर्वासित भएका शाह तथा राणाहरू, उतै वैवाहिक सम्बन्ध गाँस्न पुगेका व्यक्तिहरू एवम् उचित अवसरको खोजीमा गएकाहरूले बसोबासका लागि धनकुटा नै रोज्दा पनि धनकुटा बजारमा गुल्जार हुन पुगेको थियो । हिन्दु धर्मावलम्बी नेवार समुदायको बाहुल्य रहेको धनकुटा बजारमा बौद्धमार्गी कमै छन् । बौद्धमार्गी बिबी सरका पुर्खा पनि बन्दव्यापारकै सिलसिलामा धनकुटा पुगेको हुन सक्ने अनुमान गर्न सकिन्छ । धनकुटा बजारका हिन्दु तथा बौद्ध सम्प्रदायका नेवारहरूको संस्कृतिमा खासै भिन्नता छैन । यो धार्मिक सहिष्णुताको अनुपम उदाहरण पनि हो । जातीय कटुताको भावना नहुनु स्थानीय रीतिरिवाज, परम्परा र संस्कृतिलाई मान्यता दिने धनकुटाकै एक विशिष्ट ऐतिहासिक विशेषता रहिआएको छ । यस गरिमामय संस्कृतिमा राजनीतिक स्वार्थका कारण विचलन आउन नदिन धनकुटाबासी सचेत हुनै पर्दछ ।

बिबी सरको पूरा नाम भुवनेश्वर बौद्धाचार्य रहेछ भन्ने मैले उहाँको संसर्गमा आएको धेरै पछि मात्र थाहा पाएको हुँ । श्रद्धेय गुरुसित मेरो साक्षात्कार विसं २०१८ साल फागुन महिनामा भएको थियो । त्यसबेला म कक्षा ६ मा भर्ना हुन गोकुण्डेश्वर हाइस्कुल पुगेको थिएँ । हुन त त्यसपूर्व नै मैले उहाँका विषयमा चर्चा–परिचर्चा उपेन्द्र, मोहन तथा बहादुर दाइहरूबाटै सुनेको थिएँ । मलाई उहाँसित साक्षात्कार चाहिँ सरस्वती स्कुलका प्रधानाध्यापक भक्तविनोद श्रेष्ठले गराउनुभएको थियो ।

बिबी सरको सामीप्यता पाउनुपूर्व उहाँको व्यक्तित्व मेरो मानसपटलमा एक डरलाग्दो, कठोर अनुशासनका हिमायती र विद्यार्थीलाई कडा दण्ड दिने व्यक्तिका रूपमा चित्रण भएको थियो । डा रामप्रसाद पोखरेल, गोकुल पोखरेल आदिलाई पढाउँदा लोहोराले हातमा हानेको, जाँतोमा हात राखेर पिसेको र कठबाँसको लौराले पिटेको जस्ता कुरा सुनेको थिएँ । हुन पनि धनकुटाका स्थानीय तथा धनकुटा स्कुलमा पढ्न आउनेमध्ये बिबी सरको कुटाइ नखाएका कमै हुन्थे ।

बिबी सरले मलाई कक्षा ६ देखि नै पढाउनुभएको हो । हिसाब र अंग्रेजी उहाँले पढाउने मुख्य विषय थिए तर आवश्यक पर्दा उहाँ जुनसुकै विषय पनि पढाउनुहुन्थ्यो । उहाँको सम्मुख हुनेबित्तिकै विद्यार्थीहरूको होस हबास गुम हुन पुथ्यो । कतिजना त पढेको र बुझेको कुरा पनि प्रकट गर्नै सक्दैनथे । म छ कक्षामा पढ्दा उहाँ शिक्षक हुनुहुन्थ्यो भने क्रमशः सहायक प्रधानाध्यापक हुँदै म कक्षा १० मा पुग्दा प्रधानाध्यापक हुनुभएको थियो । उक्त विद्यालयको प्रधानाध्यापक पदबाटै अवकाश लिनुभएका बिबी सर विद्यालयमा जुन विषयका शिक्षक अनुपस्थित हुन्थे सोही कक्षामा गएर उक्त विषय पढाउनुहुन्थ्यो । एककिसिमले सबै विषयमा दख्खल थियो । उहाँ संस्कृत भाषा पढाउन पनि सक्षम हुनुहुन्थ्यो । विद्यार्थीहरूलाई विद्यालयको समयमा खाली रहन दिनु हुँदैन भन्ने उहाँको मान्यता थियो । वास्तवमा उहाँ जस्ता जिज्ञासु व्यक्ति विरलै हुने गर्दछन् ।

म हिसाबमा कमजोर थिएँ । कक्षा ६ को अर्धवार्षिक परीक्षामा हिसाबमा मेरो शून्य अङ्क आयो । सरस्वती स्कुलको प्रधानाध्यापक भक्तविनोद श्रेष्ठले मबाट यस किसिमको नतिजाको अपेक्षा गर्नुभएको थिएन । त्यसैले उहाँले मलाई बिबी सरको सम्मुख लिएर जानुभयो । र, मेरो क्षमताअनुसार नतिजा नआएकामा खिन्नता व्यक्त गर्नुभयो । बिबी सरले मलाई सम्झाउँदै ग्लकगअअभकक ष्ल तजभ एष्ििबच या क्गअअभकक भन्दै सहयोग गर्ने वचन दिनुभयो । मलाई त्यसपछि उहाँले विशेष ध्यान दिन थाल्नुभएको थियो । त्यसैबेला मैले थाहा पाएँ, बीबी सर त नौनी पो हुनुहुँदोरहेछ । मैले उहाँलाई शिष्यलाई प्रेम गर्ने र सदैव सिकाउन तत्पर हुने सुयोग्य गुरुका रूपमा पाएँ । तत्पश्चात् उहाँप्रतिका सम्पूर्ण पूर्वअनुमान गलत साबित भएको निष्कर्ष निकालेँ । तथापि, बिबी सरसित निर्धक्क कुरा गर्ने साहस भने ममा कहिल्यै भएन । उहाँसित बोल्नुपर्दा कताकता मनमा धक लाग्थ्यो ।

विद्यालयको टिफिन समयमा उहाँ मलाई नजानेको कुनै पनि विषय पढाइदिनुहुन्थ्यो । हिसाब त उहाँसित सिकिनँ तर अंग्रेजी चाहिँ पढ्न थालेँ । उहाँले पढाउने विषय ज्यामिति मैले कण्ठै पारेको थिएँ । तर, बुझेर भने होइन । मैले कक्षा ६ देखि १० सम्म पढ्दा उहाँले अंग्रेजी र हिसाब पढाउनुभयो । हामी ७–८ कक्षामा पढ्दै उहाँले बिए पास गर्नुभएको थियो । बिबि सरको पिटाइ र गाली नखानेमा म पनि परेकोमा आफैँलाई अचम्म लागेको छ । उहाँले गाली गर्दा प्रायः प्रयोग हुने शब्द तथा वाक्यांश थिए, सुकुलगुन्डा, स्याल, घाँस खानको दुःखले मान्छ भाको आदि ।

विसं २०२२ सालमा एसएलसी दिने बेलासम्म म बिबी सरको प्रत्यक्ष निगरानीमा थिएँ । विसं २०२३ देखि २०२६ बीचमा धनकुटा कलेजमा पढ्दा र सरस्वती स्कुलमा पढाउँदा पनि बिबी सरको निकट नै थिएँ । म काठमाडौँ आएपछि भने बिदामा धनकुटा जाँदा मात्र उहाँसित मेरो साक्षात्कार हुन थाल्यो  िमैले एमए पास गर्दा होस् वा पिएचडी गर्दा होस् अथवा प्राध्यापकमा सिफारिस हुँदा होस् सारै प्रसन्न हुनेमा बिबी सर पनि एक हुनुहुन्थ्यो । उहाँ प्रायः मसित अंग्रेजीमै कुरा गर्नुहुन्थ्यो । धनकुटा गएको बेला उहाँसित भेट्न पाउँदा र कुरा गर्दाको आनन्द अहिलेसम्म पनि अनुभूत गर्दै छु । उहाँ जहिले पनि शिक्षा तथा ज्ञानकै कुरा गर्नुहुन्थ्यो, घरव्यवहारका गन्थन कहिल्यै गर्नुभएन । बिबी सरले अन्यत्र अवसर पाउँदा पनि धनकुटा र शिक्षण पेसा पनि छाड्नुभएन ।

बिबी सरले पढाउनुभएका चेलाहरू सूर्यबहादुर थापा, ज्ञानेन्द्रबहादुर कार्की तथा पदमबहादुर बस्नेत मुलुककै प्रमुख राजनैतिक व्यक्तित्व बन्न पुगेका छन् । लब्धप्रतिष्ठित चिकित्सक डा रामप्रसाद पोखरेल, डा हरिगोविन्द श्रेष्ठ, डा गोकुलदास मास्के, डा सम्पूर्णनन्द ढुंगाना, अमर प्रधान तथा डा भगवान् श्रेष्ठ उहाँकै शिष्य हुन् । साथै तुलसी दिवस, दयाराम श्रेष्ठ सम्भव तथा अशेष मल्ल जस्ता साहित्यिक व्यक्तित्व र रामनारायण श्रेष्ठ,नृपेन्द्रकुमार मल्ल, कृत्येन्द्रकुमार मल्ल तथा गोविन्ददास श्रेष्ठ मास्के जस्ता कुशल प्रशासकका गुरु पनि उहाँ नै हुनुहुन्छ । उपेन्द्र दुःखी, एलपी जोशी, सुन्दर श्रेष्ठ, ओमकार श्रेष्ठ, गणेश खुँजेली, लक्ष्मीकृष्ण श्रेष्ठ, जीवनप्रकाश श्रेष्ठ तथा चन्द्र श्रेष्ठ जस्ता कलाकार र नारायण जोशी, उपेन्द्र पोखरेल तथा निरञ्जन वस्ती जस्ता प्राध्यापक उहाँकै शिष्य हुन् । पूर्वसेनापति छत्रमान गुरुङ तथा प्रहरी अधिकृत रामकाजी बान्तवा जस्ता सिपाही पनि उहाँकै शिष्य हुन् । यी त केही प्रतिनिधि नाम मात्र लिएको हुँ, यस्ता अन्य कयौँ व्यक्तिले उहाँबाट शिक्षा लिएका छन् । यी र यस्ता स्वनामधन्य विशिष्ट व्यक्तित्व आफू बिबी सरको चेला भएकोमा कस्तो अनुभव गर्दा हुन् सम्बन्धितलाई नै थाहा होला तर बीबी सर भने आफ्ना चेलाको उन्नतिमा सदैव गौरव गर्नुहुन्थ्यो । आफ्नै चेलाको क्लिनिकमा गएर डाक्टरी शुल्क तिरेर जचाउनु पर्दा पनि प्रशन्न नै रहेकोे त म आफैँले देखेको छु ।

उहाँ शिक्षण दुःखी पेसा हो तर सन्तोष लिन सकियो भने जीवन सार्थक भएको महसुस हुन्छ भन्ने टिप्पणी गर्नुहुन्थ्यो । अर्थात्, एक योग्य शिक्षकमा हुने गुण सबै उहाँमा विद्यमान थिए । म धनकुटा जाँदा सदैव बिबी सरसित आशीर्वाद लिन पुग्थेँ । भेटघाटमा इतिहास, दर्शन, अध्यात्म र संस्कृति जस्ता विषयमा चर्चा–परिचर्चा हुन्थ्यो । हामीसितको संवादमा उहाँले घरव्यवहारका कुरा कहिल्यै गर्नुभएन । सरस्वतीका भक्त भएकै कारण होला लक्ष्मी भने कहिल्यै उहाँको नजिक भइनन् । सन्तोषम् परम सुखम् तथा सादा जीवन उच्च विचार जस्ता सूक्ति कसैसित मेल खान्छन् भने त्यो बिबी सरसित नै हो । धनकुटामा जन्मेर आजन्म धनकुटामै बसी शिक्षा सेवा गर्ने धर्तीपुत्र बिबी सरको योगदान चिरस्थायी बनाउन उहाँका हामी जस्ता सबै चेलाले जाँगर चलाउनुपर्ने बेला आएको छ ।

ठाकुर बराल लेख्नुहुन्छ, ‘बिबी सर भनेपछि धनकुटामा नचिन्ने मानिस कोही छैन तर उनलाई चिन्ने मानिस खोज्यो भने भेट्न पनि मुस्किल छ ।’

धनकुटालाई पूर्वकै शैक्षिक केन्द्र बनाउन बिबी सरको ठूलो योगदान रहेको छ । अब उहाँ भौतिक रूपमा हामी बीच हुनुहुन्न तर सम्झनामा सदासर्वदा रहिरहनुहुनेछ । पूजनीय गुरुप्रति हार्दिक श्रद्धाञ्जली !

✍ प्राडा तीर्थप्रसाद मिश्र



Post a Comment

0 Comments