विश्वविद्यालयमा एमए दोस्रो वर्ष सकिनेबित्तिकै २०३० साल फागुनदेखि नै जागिर खोज्ने तरखरमा लागियो । परीक्षा समाप्त भएपछि एकपटक घरमा गएर भेटघाट पनि गर्ने र आनासुकीको व्यवस्था पनि गर्ने अनि पुनः काठमाडौँ फर्कने योजना बनाई इटहरी जाने भएँ । तर, आफूले सोचे जस्तो किन हुन्थ्यो, आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो जस्तो भयो ।

दोस्रो वर्षको परीक्षा दिएर इटहरी आएँ । सम्बत् २०३० सालदेखि आमा धनकुटाबाट इटहरी नै बस्न थाल्नुभएको थियो । इटहरी पुगेको केही दिनपछि मलाई ज्वरो आयो । ज्वरो निकै कडा । छाती पनि दुख्न थाल्यो । विराटनगर गएर डाक्टर ध्रुवलाल सिंहलाई देखाए । डाक्टर सिंहको क्लिनिक काठमाडौँँँको नयाँसडकमा थियो । डाक्टर पोखरेलसँग आउजाउ थियो । त्यसैबेला चिनेको हुँ । उहाँ पनि मलाई प्रेम नै गर्नुहुन्थ्यो । उहाँले रगत र खकार परीक्षण गर्न लगाउनुभयो । क्षयरोग लागेको रहेछ । औषधि सुरु भयो । 


साह्रै दुरुत्साहित पनि भएँ तर के गर्ने परिस्थितिसँग सम्झौता गर्नैपर्ने रहेछ । इटहरीमा नै सुई लगाउन थालियो । सुई लगाउँदा दुईपटक त म बेहोस पनि भएँ । अहिलेको जस्तो डिस्पोजेबल सिरिन्च थिएन । पाखुरा र फिलामा पालैपालो दिनुपथ्र्यो । ८५ वटा सुई लगाइयो । सोही सुईका कारणले होला अहिले पनि सुई दिएको ठाउँमा कहिलेकाहीँ पीडा हुन्छ । त्यतिबेलाको आहारविहार नमिल्दा खानाकै कारणबाट रोग लागेको रहेछ । म काठमाडौँँँ तत्कालै फिर्ता हुन सकिनँ । क्षयरोगको बिरामी थिएँ र निराश पनि । शारीरिक रूपमा कमजोर भएकाले सोही बेलादेखि अन्डा र मासु खान थालेको हुँ । 


इटहरी आजको जस्तो थिएन । रिक्सा पनि थिएन । गर्मीको समयमा इटहरी र खाद्य गोदाम ओहोरदोहोर गर्दा निकै सास्ती खानु प¥यो । मेरो औषधी उपचारकै क्रममा एमएको परीक्षाफल पनि आयो । प्रथम श्रेणी नै आएछ दुःख परेको बेला सुखको अनुभूति भयो । कृष्ण न्यौपाने र म महेन्द्र मोरङमा  क्याम्पसका प्रमुख ध्रुवनारायण लालसित भेट गर्न गयौँ । उनले हामी दुवैलाई राख्ने आश्वासन त दिए   तर कुरा मिलेन । राजनीतिक पृष्ठभूमिका कारण उनले कृष्णलाई राख्न नचाहेका रहेछन् । उनलाई अवसर नदिई मलाई राख्न पनि उनलाई अप्ठेरो लागेछ । यो कुरा पछि मात्र थाहा भयो । जे भयो ठीकै भयो ।


अस्वस्थ हुँदा हुँदै पनि इटहरीबाट काठमाडौँँ जाने विचार गरेँ तर घरपरिवारबाट अनुमति मिलेन । ९० दिनको सुई सिध्याएर मात्र पठाउने कुरा भयो । इटहरीबाट दशैँमा धनकुटा गइयो । म दशैँपश्चात् काठमाडौँँ जाने जिद्दी गर्न थालेँ । घरको स्वीकृति नहुँदा नहुँदै पनि म काठमाडौँ हिँडिहालेँ । मैले खर्चको जोहो पनि आफैँले गरेको थिएँ ।


काठमाडौँँ आएपछि जागिर खोज्न थालेँ । आमा र दाजुको चाहना धनकुटा कलेजमा नै आए हुन्थ्यो भन्ने थियो । धनकुटा कलेजमा त्यसबेला शिक्षक आवश्यक थिएन । पछि पनि प्रयास भयो । मलाई सहायक प्राध्यापक दिने भए तर मेरो योग्यता उपप्राध्यापकका लागि पर्याप्त थियो । तत्कालीन अवस्थामा प्रथम श्रेणी प्राप्त गर्नेलाई उपप्राध्यापक दिनसक्ने प्रावधान थियो तर दिन चाहेनन् । त्यसैले धनकुटामा भएन । धरानका लागि छनौट भएको थिएँ तर म नै गइनँ । माधवराज पाण्डे सरको सत्प्रयासले अनुसन्धान शाखामा मेरो जागिर सुरु भयो, २०३१ मङ्सिरदेखि । शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको अनुसन्धान शाखामा काम त सुरु गरेँ तर मन रमाइरहेको थिएन । पढाउन पाए हुन्थ्यो भन्ने चाहना थियो । माधवराज पाण्डे सरले कीर्तिपुरमा नै राख्ने चाहना गर्नुभएको थियो तर हुन सकेन ।


त्यसबेला मानविकी सङ्कायका डिन उपेन्द्रमान मल्ल हुनुहुन्थ्यो । सहायक डिनमा विष्णुबहादुर श्रेष्ठ । विष्णुबहादुर सर मलाई कीर्तिपुरमा नै राख्ने पक्षमा हुनुहुन्थ्यो । सोही बेला पाटन क्याम्पस हालको नेपाल कमर्स क्याम्पसमा इलेक्टिभ विषय पढाउनका लागि इतिहासको शिक्षक आवश्यक परेको कुरा डिन प्रचण्ड प्रधानले विष्णुबहादुर श्रेष्ठसँग गर्नुभएको रहेछ । केही समयपश्चात् इतिहास विभागमा पठाउने आश्वासन दिई विष्णुबहादुर सरले मलाई प्रचण्ड प्रधानसँग भेट्न पठाउनुभयो । प्रचण्ड प्रधानले एकैछिनमा अन्तर्वार्ता लिनुभयो र ल ठीक छ बालक राम्रो गर्नू भनी नियुक्ति पत्र तयार पार्न लगाउनुभयो (मलाई फुच्चे देखेर पछिसम्म पनि उहाँ मलाई बालक नै भन्नुहुन्थ्यो) । प्राचीन इतिहासमा गौतमदर्शन बुद्धाचार्यले पनि सँगै नियुक्ति पाउनुभयो । हामी दुवै कीर्तिपुरबाट हिँडेरै पाटन क्याम्पस पुग्यौँ । त्यसबेला यातायात पनि सहज थिएन । ट्याक्सी पनि भनेको बेलामा नपाइने पाइहालिए पनि चाहना थिएन ।


नेपालमा सन् १८१८ मा त्रिचन्द्र कलेजको स्थापना भएपछि उच्चशिक्षाको पठनपाठन प्रारम्भ भएको हो । यस कलेजमा कला र विज्ञान विषयको मात्र अध्ययन अध्यापन हुने गथ्र्यो । वाणिज्य शास्त्रको पढाइ भने प्रजातन्त्रपश्चात् मात्र सुरु भएको हो, सन् १९५४ मा । प्रारम्भमा कला र विज्ञान विषयमा जति वाणिज्य शास्त्रमा विद्यार्थीको आकर्षण थिएन । त्यसबेला भन्ने गरिन्थ्यो छोरी बिग्रिए नर्स छोरा बिग्रिए कमर्स । डा रामप्रसाद राजवाहकले इलाहाबादबाट एमकम पास गरेपछि आमालाई मैले एमकम पास गरेँ भनी खबर सुनाउनुभएछ । छोराको कुराले दुःखी भएकी आमाले खै के हो के हो कसैले एममाथि ए थप्छन्, कसैले एममाथि एस्सी थप्छन्, मेरो छोराले त एमभन्दा पनि कम पढेछ भन्नुभएछ । यस भनाइमा के कति सत्यता थियो त्यो अर्कै कुरा तर वाणिज्य विषयमा पढ्ने विद्यार्थीको संख्या न्यून भएको तथ्य ठीक हो । विसं २०३० सालपश्चात् वाणिज्य शास्त्रले स्वरूप परिवर्तन गर्दै जाँदा आज यो विषय सर्वाधिक लोकप्रिय बन्न पुगेको छ ।


फेरि फर्काैँ पाटन क्याम्पसतर्फ– गेहेन्द्रबहादुर राजभण्डारीको सक्रियतामा नेपाल कमर्स कलेजको स्थापना २०२१ सालमा ललितपुरमा भएको थियो । पाटन हाइस्कुलमा बिहानीको समयमा वाणिज्य विषयको कक्षा सञ्चालन हुथ्यो । आफू एमए पढ्दा मैले साथी देवेन्द्रलाल श्रेष्ठलाई कमर्स कलेजमा बिकममा भर्ना गरिदिएर धनकुटाबाट काठमाडौँँ बोलाएको थिएँ । यस्तैगरी मेरा दुईजना विद्यार्थी गोविन्दलाल अग्रवाल र श्यामसुन्दर अग्रवाललाई पनि आइकममा सोही कलेजमा भर्ना गराएको सम्झना छ । गेहेन्द्रबहादुर राजभण्डारीपश्चात् केशवप्रसाद प्रधान उक्त कलेजको प्राचार्य हुनुभयो ।


विसं २०३० सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भएपछि उक्त कलेज पाटन क्याम्पसका रूपमा नामकरण भई त्रिभुवन विश्वविद्यालय व्यापार प्रशासन, वाणिज्य शास्त्र तथा जनप्रशासन अध्ययन संस्थाको आंगिक क्याम्पस बन्न पुग्यो । पाटन क्याम्पस मानभवन (जुद्धशमशेरका छोरा मानशमशेरको भवन)मा घरभाडामा लिएर पाटनबाट स्थानान्तरण गरियो । प्रारम्भदेखि नै उक्त क्याम्पसमा व्यापार प्रशासन एवम् वाणिज्य शास्त्रका प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका शैक्षिक कार्यक्रम सञ्चालित थिए । विसं २०३० सालमा पृथुराज श्रेष्ठ क्याम्पस प्रमुख हुनुभयो । उहाँ २०३१ सालमा नै विश्वविद्यालयको सहायक डिनमा नियुक्त भएपछि गोविन्दप्रसाद आचार्य क्याम्पस प्रमुख हुनुभयो । उक्त क्याम्पसमा प्रवेश गर्दा मैले उहाँबाटै स्वागत पाएको थिएँ ।


त्यसबेलामा इलेक्टिभ विषयअन्तर्गत आफ्नो संकायबाहेक अन्य संकायको विषय १० क्रेडिट पढ्नुपथ्र्यो । यसअन्तर्गत पाटन क्याम्पसमा इतिहास, प्राचीन नेपाली इतिहास संस्कृति र पुरातङ्खव तथा राजनीतिशास्त्र विषयका पाठ्यक्रम समाविष्ट थिए । त्यहाँ राजनीतिशास्त्रको प्राध्यापक समेत आवश्यक रहेकाले मेरै सूचनाको आधारमा चुडाराज उप्रेतीको पनि मभन्दा दुई दिनपछि पाटन क्याम्पसमा नियुक्ति भयो ।


क्याम्पस टेकेकै दिनदेखि प्रफुल्लित भएको मेरो मन आजसम्म पनि प्रफुल्लित नै छ । उक्त क्याम्पसको सम्झना आउँदा मनमा आनन्दको अनुभूति हुन्छ । म क्याम्पसमा प्रवेश हुँदा गोविन्दप्रसाद आचार्य, कुन्दनदत्त कोइराला, तेजलाल नकर्मी, विद्याप्रसाद राजभण्डारी, बालकृष्णमान सुवाल, रामप्रसाद श्रेष्ठ, रत्नमान डंगोल, भद्रकाली पन्त, सन्तोषराज पौड्याललगायत कार्यरत हुनुहुन्थ्यो । केही समयपश्चात् रमेश पाण्डे, कोमलनाथ सुवेदी तथा लोकेश्वर दत्त पनि सोही क्याम्पसमा सरुवा भई आउनुभयो । विसं २०३२ सालमा नै पराशर कोइरालाको नियुक्ति भयो भने सोही साल पब्लिक युथ क्याम्पसबाट किरण कोइराला सरुवा भई आउनुभयो । पाटन क्याम्पसमा मैले करिब करिब २ वर्ष यिनै प्राध्यापकको संसर्ग, उठबस र सहकार्यमा बिताएँ । यो अवधि मेरा लागि अविस्मरणीय बन्न पुगेको छ । सबै शिक्षकबाट यथेष्ट शुभेक्षा, सहयोग र सल्लाह पाएँ । बालकृष्णमान सुवालबाट त भ्रातृवात्सल्य पाएँ र पाइरहेकै छु । उल्लिखित प्राध्यापक मित्रहरूले कालान्तरमा विश्वविद्यालय र मुलुककै विशिष्ट पदमा रही आफ्नो भूमिका निर्वाह गरेपश्चात् हालको निवृत्त जीवन पनि प्राज्ञिक कार्यमा संलग्न भएर बिताउनुभएको छ । मित्रहरू लोकेश्वर दत्त, विद्याप्रसाद राजभण्डारी र तेजलाल नकर्मीको निधन भइसकेको छ । उहाँहरूप्रति हार्दिक श्रद्धान्जली ! 


प्राडा गोविन्द आचार्य, प्राडा कुन्दन कोइराला तथा प्राडा पराशर कोइराला व्यवस्थापन अध्ययन संस्थानको डिन भई विश्वविद्यालयलाई प्राज्ञिक नेतृत्व दिन सफल भए । प्राडा पराशर कोइराला त विश्वविद्यालय अनुदान आयोगका अध्यक्षसमेत भए । प्रा रमेश पाण्डे तथा प्रा बालकृष्ण सुवाल गुणस्तरीय शिक्षा प्रदान गर्ने क्याब नामक शैक्षिक संस्थाका संस्थापक सदस्य हुन् । प्राडा सन्तोषराज पौडेल व्यवस्थापन संकायका विभागीय प्रमुख भए । प्रा रामप्रसाद श्रेष्ठ, प्रा रत्नमान डंगोल तथा प्रा भद्रकाली पन्त पनि उच्च प्राज्ञिक पदमा पुगेको सम्झना छ । किरण कोइराला भने न्युजिल्यान्ड पुगी उतै स्थायी बसोबास गरिरहेका छन् । पाण्डे, सुवाल तथा कोइराला शंकरदेव क्याम्पसमा, लोकेश्वर दत्त तथा भद्रकाली पन्त पद्मकन्या क्याम्पसमा, सन्तोषराज पौडेल कीर्तिपुर व्यवस्थापन संकायमा र कोमलनाथ सुवेदी सरस्वती क्याम्पसमा सरुवा भए । र, तत्तत् स्थानबाट सेवानिवृत्त भए । यी सबै मित्रहरूसित हालसम्म पनि भलाकुसारी भइरहन्छ ।


पाटन क्याम्पसमा सबै प्राध्यापकबीच एकता, समन्वय र सहयोगी भावना थियो । क्याम्पसको कार्यमा प्राध्यापकहरू सदैव एकजुट थिए । त्यसबेलासम्म प्राध्यापकहरूमा राजनीतिले  गाँजेको थिएन । हाम्रै पालामा क्याम्पस मानभवनबाट मीनभवनमा स्थानान्तरण भएको थियो । पाटन क्याम्पसको सात रोपनी जग्गा इन्जिनियरिङ अध्ययन संस्थानलाई दिई विश्वविद्यालयले १४ लाखमा मीनशमशेरको २२ रोपनी जग्गा सहित भवन खरिद गरेपछि क्याम्पस मीनभवन सरेको हो । त्यतिबेला अब काठमाडौँंमा पनि पाटन क्याम्पस हुने भयो भन्ने रोचक टिप्पणी भएको सम्झना छ । क्याम्पसको स्थानान्तरणमा शिक्षकहरू स्वयंले डेक्सबेन्च बोकी कक्षाकोठाको व्यवस्थापन गरेका थिए ।


विसं २०३१ ३२ सालतिर मानभवन र मीनभवन दुवै यातायात र अन्य दृष्टिले सुगम थिएनन् । मानभवनबाट चियाखाजा खान जाउलाखेल नै पुग्नुपर्ने बाध्यता थियो भने मीनभवनमा त अझ मुस्किल थियो । ट्रलिबस यातायातको एकमात्र साधन थियो भने चियाखाजा खान थापाथली नै सबैभन्दा नजिक थियो । त्यतिबेला नयाँबानेश्वर परिसर विकास नै भएको थिएन । त्यहाँ एकादुई घर मात्र थिए । एभरेस्ट होटल निर्माणकै क्रममा थियो । वर्तमान स्थिति हेर्दा बानेश्वर क्षेत्रको अभूतपूर्व विकास भएको देखिन्छ । यथार्थमा भन्ने हो भने छोटो समयमा द्रुत गतिले विकास भई सबै किसिमले सुविधायुक्त स्थान बन्न पुगेको काठमाडौँंको पहिलो क्षेत्र नै बानेश्वर भयो ।


क्याम्पस छुट्टी भएपछि प्रायः हामी सबै अशोक सिनेमा समीपका साधारण चमेनागृह तथा भोटाहिटीस्थित नेवारी खाजाघर जस्ता स्थानमा जलपान गरी आनन्द लिन्थ्यौँ । क्याम्पसमा आफ्नो कक्षा सकिनेबित्तिकै  हिँड्ने चलन थिएन । सबैको कक्षा सकिएपछि हुल बाँधेर निस्कन्थ्यौँ । लोकेश्वर दत्त र रमेश पाण्डे मोटरसाइकलमा आउनुहुन्थ्यो भने अरू सबै सार्वजनिक सवारी नै प्रयोग गर्थे । पाटन क्याम्पसका १३ भाइ भन्ने टिप्पणी अन्य क्याम्पस प्राध्यापकहरूबीच पनि हुन्थ्यो । क्याम्पस दिवस, वाणिज्य दिवस तथा अन्य उत्सवमा आयोजित खेलकुद तथा साहित्यिक कार्यक्रममा सबै शिक्षकहरूले उत्साहपूर्वक सहभागिता जनाउँथे । विद्यार्थीहरूसमेत मनोरञ्जनका लागि शिक्षक र विद्यार्थीबीच भलिबल प्रतियोगिता आयोजना गर्थे । फुर्सदमा बालकृष्ण सुवाल र कोमलनाथ सुवेदी चेस तथा मलगायत रामप्रसाद श्रेष्ठ, तेजलाल नकर्मी, विद्या राजभण्डारी र रमेश पाण्डे टेबुलटेनिस खेल्ने गथ्र्यौँ । कुनै साथीले नयाँ सर्टपाइन्ट तथा जुत्ता लगाएको देखिए चिया खुवाउनुपर्ने चलन थियो । यसबाट उम्कन कति मित्रहरूले नयाँ कपडा धोएर पुरानो जस्तो बनाएर लगाएको पनि सम्झना छ तर त्यो पनि पत्ता लगाउने माहिर साथीहरू थिए ।


एकपटक पाटन क्याम्पसका शिक्षकहरूको गोदावरीमा बनभोज आयोजना गरिएको थियो । उक्त कार्यक्रममा व्यवस्थापनको कमजोरीका कारण सबैले हिँडेर नै काठमाडौँँ पुग्नुपरेको घटना पनि हाम्रो मानसपटलमा ताजा नै छ । 

त्यसबेलामा पाटन क्याम्पसमा अध्ययन गर्न देशका प्रायः ७५ वटै जिल्लाबाट विद्यार्थीहरू आउँथे । विद्यार्थी र प्राध्यापक बीचमा उमेरको खासै ठूलो अन्तर थिएन । प्रारम्भमा मलाई फुच्चे देखेर हो कि किन हो विद्यार्थीहरूले त्यति पत्याएका थिएनन् तर पछि सबैको विश्वास जित्न सफल भइयो । शिक्षकको एकताका कारण विद्यार्थीहरूले शिक्षकलाई सितिमिति अनादर गर्न सक्ने स्थिति थिएन । पाटन क्याम्पसमा रहँदा मैले इतिहास, संस्कृति र नेपाल परिचय विषय पढाएको थिएँ । पछि इलेक्टिभ विषय खारेज भएपछि नेपाल परिचय मात्रै केही समय पढाइयो ।


पाटन क्याम्पस मा मैले पढाएका विद्यार्थीहरू प्रायः सबैजना आ–आफ्नो क्षेत्रमा स्थापित भएका छन् । प्राडा सुशीलभक्त माथेमा तथा प्रा शशीकान्त मैनाली त्रिभुवन विश्वविद्यालयमा, सुदीप शर्मा तथा विनोद विष्ट नेपाली सेनामा र कदम अर्याल अमेरिकामा राम्रै जागिरमा छन् । त्यसैगरी नेपालकै लब्धप्रतिष्ठित कवि एवम् साहित्यकार गोविन्द गिरी प्रेरणा, कूटनीतिज्ञ राजाराम बर्तौला, बैँकिङ क्षेत्रका खुमानन्द सुवेदी, हरिलाल गणेश, मुरारीप्रसाद भेटवाल तथा योगेन्द्र अमात्य र चार्टर एकाउन्टेन्ट उत्तरकुमार श्रेष्ठलगायतले सम्बन्धित क्षेत्रमा नाम कमाएका छन् । आफ्ना विद्यार्थीहरूको श्रीवृद्धि भएकोमा सारै आनन्द एवम् गौरवको अनुभूति हुन्छ । आज नेपाल त के विदेश (अमेरिका, युरोप तथा अस्ट्रेलिया)मा पनि आफूले पढाएका विद्यार्थीहरू भेट्दा आनन्द लाग्छ ।


त्यसबेला डिनको कार्यालयबाटै परीक्षा सञ्चालन हुन्थ्यो । परीक्षासम्बन्धी कार्य गरेबापत कुनै पारिश्रमिक थिएन । प्रश्नपत्र बनाउँदा, उत्तरपुस्तिका परीक्षण गर्दा, सम्परीक्षण गर्दा कुनै प्रकारको अतिरिक्त पारिश्रमिक थिएन । कीर्तिपुर डिन कार्यालयमा गएर रातभरि काम गरेको पनि सम्झना छ । डिन, सहायक डिन सबै एक ठाउँमा बसी काम गर्ने गरिन्थ्यो । पाटन क्याम्पसबाटै मैले २०३३ साल आषाढमा पोखरामा भएको पहिलो नेपाल परिचय विषयको अधिवेशनमा भाग लिएँ । पोखरामा हुँदा घनश्याम खनाल, कृष्ण पोखरेल, उपेन्द्र पोखरेल धर्म उप्रेती र म चारजनाको खुबै मिल्ती थियो । 


प्रचण्ड प्रधानपछि उपेन्द्रबहादुर प्रधानाङ्ग डिनमा नियुक्त भए । क्षेत्रीय अवधारणाअनुसार डिन कार्यालय विराटनगरमा स्थानान्तरण हुने भयो । डिनको कार्यालय योजना तथा अनुसन्धान शाखामा काम गर्ने एक शिक्षकको आवश्यकता थियो । त्यो पनि विराटनगर जानुपर्ने । बालकृष्णमान सुवाल र गोविन्द आचार्यले मेरो नाम सिफारिस गरे । म काजमा तानिएँ । काठमाडौँँ हुँदा नै विषय समितिको प्रभावकारिता विषयमा एक अनुसन्धान परियोजना पूरा गरेको थिएँ । उक्त परियोजनामा मैले किरण कोइरालाबाट यथेष्ट सहयोग पाएको थिएँ ।


सम्बत् २०३२ सालमा प्राध्यापकहरूलाई लबेदा सुरुवाल र कोट लगाउनुपर्ने उर्दी जारी भयो । विसं २०३२ सालमा नै विद्यार्थीहरूको हड्ताल भयो । कयौँ महिनासम्म कक्षा भएनन् । विश्वविद्यालयले अनिश्चितकालका लागि क्याम्पस बन्द पनि ग¥यो । विसं २०३२ सालमै राजनीतिमा लागेको भनेर बिसी मल्ललगायतलाई सेवाबाट बर्खास्त गरियो । यो घटना विश्वविद्यालयको इतिहासमा कलङ्क साबित भयो । पुस १ गते र १४ गते प्राध्यापकलाई टुडिखेलमा अनिवार्य उपस्थित गराउने उर्दी लगाइयो । दशदेखि पाँचसम्म क्याम्पसमा बस्नैपर्ने गराइयो । त्यतिबेला एउटा क्याम्पस पढाउनेले अर्को क्याम्पसमा पनि पढाउन पाउने अनुमति थिएन । प्राध्यापकहरू पञ्चायत व्यवस्थाप्रति समर्पित रहून् भन्ने चाहना थियो तर अधिकांश प्राध्यापकहरू यस व्यवस्थाको समर्थक थिएनन् । पञ्चायती व्यवस्थालाई समर्थन गर्नेलाई प्रोत्साहन गर्ने नीति पनि लिएको थियो । पद, प्रतिष्ठा र प्रोत्साहनद्वारा व्यवस्थाका समर्थक बनाउने प्रयास हुन्थ्यो । तर, विश्वविद्यालयका उपकुलपतिलगायत अन्य पदाधिकारीहरू खुलेआम आना स्वजन र व्यवस्थावादीलाई समर्थन गर्न हिच्किचाउँथे । प्राध्यापक संघ गठन भएको थिएन । प्राध्यापकको हक, हित र स्वार्थका लागि कुनै संस्था नै थिएन । प्राध्यापक संघको गठन त २०३८ सालतिर मात्र भएको हो ।


पुस १ र १४ गते जिल्लाको कार्यक्रममा भाग लिन प्राध्यापकहरूलाई खटाइन्थ्यो । प्राध्यापकहरूलाई वृत्तिविकासको कुनै पनि अवसर थिएन । विश्वविद्यालयमा पिएचडी गर्ने व्यवस्था पनि थिएन । यति हुँदाहुँदै पनि प्राध्यापकहरूको इज्जत थियो । कलेजमा पढाउने भनेपछि आदरभावले हेरिन्थ्यो । विद्यार्थीहरू पनि अनुशासित नै थिए ।

यदाकदा आफैँले पढाएका विद्यार्थीहरूले नचिने जस्तो र  नचिन्दा चाहिँ कताकता नमीठो लाग्छ तर त्यो पनि आफ्नै कमजोरी हो कि भन्ने भान पनि हुन्छ ।


पाटन क्याम्पस २०३८ सालमा गएर नेपाल कमर्स क्याम्पस हुन पुग्यो । व्यवस्थापन अध्ययन संकाय (व्यापार प्रशासन, वाणिज्य शास्त्र तथा जनप्रशासन अध्ययन संस्थानको २०३५ सालमा व्यवस्थापन अध्ययन संस्थान नामकरण भएको थियो र पछि २०३८ सालमा व्यवस्थापन संकाय भयो) अन्तर्गत  गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्ने एक प्रतिष्ठित शैक्षिक संस्था हुनपुगेकामा गौरव लागेको छ ।


विसं २०३३ साल भाद्र महिनामा पाटन क्याम्पसबाट व्यापार प्रशासन तथा वाणिज्य शास्त्र अध्ययन संस्थानको डिनको कार्यालयमा योजना तथा अनुसन्धान शाखाको प्रमुखमा काजमा खटिएपछि पाटन क्याम्पसमा नियमित शिक्षकको क्रमबद्धता छुट्यो तर प्रेम बढ्दै गयो । तसर्थ पाटन क्याम्पस र सहकर्मी साथीहरूबीच सम्पर्क भने अटुट रह्यो । आज पनि हामी १३ भाइको सम्बन्ध सार्थक छ । र, स्नेह पनि उस्तै छ । भेटघाट हुँदा विगतमा साथै बिताएका क्षण सम्झेर आनन्दित हुन्छौँ, हामी । अब त सबैजना सेवानिवृत्त भइसकेका छौँ ।


✍️ 

प्राडा तीर्थप्रसाद मिश्र