छोरी नाम शब्द नै धेरै राम्रो छ । तर के गर्ने बिडम्बना! यो समाजमा यो छ की! छोरी जन्मन नपाउदै पेट मै भ्रूण हत्या गर्ने चलन छ । यदि छोरी जन्मी हाले पनि छोरी जन्मेकी छे भनेर नाक खुम्च्याउने, टोल छिमेक मा आफन्तजनमा पनि फलानाको त छोरी जन्मेकी छ रे भनेर ब्यांग्यात्मक तरिका ले भन्ने गरेको सुनिन्छ । 

कसै कसैको घरमा त छोरी जन्माइ भनेर सुत्केरी लाई खान नदिने, गाली गर्ने, कुट्ने, छोरी जन्माकै निहुमा सौता हाल्ने, यदाकदा कुटेर मारेको पनि सुन्न आएको छ । 

हाम्रो (पित्री) पुरुष प्रधान देशमा समाजमा छोरा नभई नहुने, छोरा जन्माउन कै लागि बहुविबाह गर्ने चलन छ । तर त्यहि छोरा को लागि असल बुहारी खोज्दै हिड्छन् मानिस हरु! यदि कसैले नि छोरी नजन्माएको भए बुहारी काहांं बाट पाइन्छ भन्ने सोच पनि मानिस मा हुदैन रहेछ ।

छोरी मान्छे लाई यति अत्याचार गर्छन् की । कोहि कोहि मानिस हरु चैं एक्लै छोरी मान्छे हिडेको देखेर पछि लाग्ने, सिठी फुक्ने गर्छन् भन्ने सुन्नमा आएको छ! हामिले पनी भोगेको छ । 

कती पय घरमा छोरी मान्छेले आफ्ना्े घरका सदस्य हरु बाट पनी सुरक्षा पाउन सकेको हुदैन, यति सम्म की कसै कसैको त घरकै मान्छे संग पनि सुरक्षीत छु भनेर विश्वास गर्न नसक्नु कस्तो अत्याचार छ । कसै कसैको घरमा त नरपिसाच नै हुंदा रहेछन् भन्ने सुन्नमा आएकोछ ।

छ महिनाको बच्चा देखि 70 वर्षको बृध्द महिला पनि सुरक्षीत छैनन्। कति ठाउमा यस्ता घटनाहरु घटिरहेका छन् की छोरी मान्छेलाइ सुरक्षीत संग बांच्न पनि दिदैनन् । कति ठाउमा यस्ता घटनाहरु घटिरहेका छन् छोरी मान्छेले स्वतन्त्र पुर्बक हिड्न नपाउने,स्वतन्त्र पुर्बक बांच्न नपाउने,एक्लै भेट्यो की बलत्कारीहरुको गिध्धे नजर परि हाल्ने । 

त्यस्ता खराब नियत का रक्त पिपासु, नरपिसाच, पृथ्वी का भार वाट बाच्न लाइ छोरी हरु लाइ धेरै गारो छ ।

उहिले उहिलेको कुरा हो । पहिले पहिले त घर कै आमा बुवाहरुले छोरा र छोरी लाइ भेदभाव गर्ने चलन थियो रे छोरा लाइ मिठो मिठो खाने कुरा दिने छोराहरु लाइ दुध दहि घिउ खान दिने, छोरी लाइ मेहि मात्र दिने चलन थीयो रे छोरा लाइ राम्रो राम्रो लुगा जुत्ता दिने, छोरी हरु खालि खुट्टा हिड्ने चलन थियो रे।

छोरी लाई अर्काको घरमा जाने जात भनेर पढाउदैन थिए रे छोरा लाई मात्र पढाउने चलन थियो रे । यो सबै पहीले का हजुरआमाहरूले  सुनाउनु हुन्थ्यो।

सति प्रथा भन्ने एउटा अनौठो  चलन थियो रे। बिबाह भएर अर्काको घर गएको छोरी मान्छे को श्रीमान् मरे भने बिधुवा हरुले बांच्न पाउदैनथे रे श्रीमान् संगै जलाएर मार्ने चलन थियो रे । त्यस बेला का मान्छे पनि पापी हुंदा रहेछन् यसरी जिउदै जलाएर मार्ने । यो चलन चै नेपाल आमाले राम्रो छोरा जन्माएको रहेछ । चन्द्र समसेर ले यो प्रथा हटाउनु भएको रहेछ । बिधुवा महिला लाई बांच्न पाउने अधिकार दिनु भएछ ।

सुदुर पश्चीम तिर छाउपडी भन्ने संस्कार अझै छ यो संस्कार पनि छोरी लाई हेलाँ गर्ने सस्कार हो । छाउपडी भएको समयमा राम्रो तागतिलो पोषिलो खाने कुरा हरु खान दिनु पर्ने, सफा सुग्घर भएर बस्नु पर्ने, सफा ठाउमा बस्नु पर्ने बेलामा एक्लै फोहोर ठाउ छाउपडी मा लगेर राखिदिने चलन धेरै नराम्रो  संस्कार हो ।

यो संस्कार हटाउन चैं प्रयत्न भइ रहेको छ भन्नेसुनेको छु तर अझ हटाउन सकेको छैन ।

हाम्रो देशमा शहर मा भन्दा गाउमा त झन धेरै साना साना बालिकाहरु, कीशोरी हरु अधिकांस पढेर एक्लै घर फर्कने क्रममा, घरमा ठुलो मान्छे कोहि नभएको समयमा बलत्कृत भएका खबर हरु सुन्नमा आएको छ । यस्ता गिध्दे नजर लगाउने, नरपिसाच हरुले बलत्कार गरी मारेर फालेका खवरहरु पनि दिनै पिच्छे सुन्नमा आएको छ । धेरै जसो नरपिसाच हरुले अरु लाइ भनेर पोल खुल्छ भनेर मारेर फाले पछि जोगिन्छु भनेर मारेका छन् भन्ने सुनेको छ । ति अपराधि हरुलाइ पक्राउ गरेर कार्यवाहि गर्ने नियम कानुन अझै हाम्रो देश मा बन्न सकेको छैन । 

अपराधिहरु खुलेआम छाति फुकाएर, छाति फुलाएर हिंडि रहेका छन् । ति अपराधि हरु लाई कारवाहि नभए पछी उनी हरु झन अपराध गर्दै हिडी रहेका हुन्छन् । 

देश समाज बनाउछु भनेर हिड्ने ठुला वडा हरु कानमा तेल हालेर बसिरहेका छन् ।

निर्मला हत्या काण्ड,भागिरथी हत्या काण्ड, सम्झना जस्ता नाम नखुलेका कयौं बालबालिका हरुले अझै न्याय पाएका छैनन् । यस्ता हत्या काण्ड त कति छन् छन् लेखेर साध्य छैन ।

छोरी मान्छे नै बिबाह भएर अरुको घरमा गए पछि बुहारी बन्छीन् नयां ठाउमा गए पछि सबै नयां नै हुन्छ कतिपय लाइ त नयां घरमा घुलमिल हुन कति गारो हुन्छ । कति ठाउमा दाइजो ल्याइन भनेर घोचपेच गर्ने, माइती गएर खाइजो लिएर आइज भनेर बाध्यता बनाउने,कुटपिट गर्ने,शारीरीक यातना, मानसिक यातना दिने, अन्त्यमा कुटेर मार्ने, आगो लगाएर मार्ने, खुकुरी ,बन्चरोले हानेर मार्ने आदि सुनिएको छ । 

पोहोर मात्र चितवन मा लोहोरो ले किचेर बुहारी मारेको अबगतै होला, हालै भरखरको खबरमा पनि चितवनमा पर्दा को ढण्डीमा झुन्डाएर मारेको खवर समाचार मा पनि सुन्नमा आएको छ  । 

म सानो हुदा बुहारी लाइ भैंसिलाई पकाएको तातो खोलेमा डुवाएर मारेको भन्ने पनि सुनेको थिए ।

उहिले उहिेले का बुडापाका हरुले भनेको सुनेको उहिलेको जमाना मा बुहारी लाइ गारो हुन्थ्यो रे दिन भरी काम गरेर एक छिन फुर्सद हुँदैन थीयो रे। खान पनि राम्रो संग पाउदैनथे रे । सुत्न, निदाउन पनि पाइदैन थीयो रे । बिहान चांडै उठेर ढीकी जांतो, लिपपोत,टाढा वाट पानि ल्याउने,घांस खाउरा, खेत वारी खन्ने,गाई वस्तु, भकारो आदि काम गरर्दा पनि सासु को किचकिच सुन्नु पर्थ्यो रे कती ठाउँमा त सासुले बुहारी को हातको औंला ढिकीले कुल्चाउथे रे।

तेति मात्र कहां होर! तेति बेला को समयमा बच्चा धेरै जन्माउनु पर्ने! छोरी धेरै जन्मीयो भने छोरा नजन्माउन्जेल जन्माइ रहनु पर्ने अबस्था, छोरी जन्माउने लाई हेला गरने, छोरा जन्माउन कै लागि बहुविवाह गर्ने चलन थियो रे ।

 छोरा छोरी धेरै जन्माएर स्वास्थ्य मा पनि धेरै खरावि हुन्थ्यो रे कतिपयको आङ खस्ने रोग लागेर धेरै कस्टकर जिवन जिउन बाध्य हुनु पर्ने थियो! कती पय महिलाहरु को बाहिरै पाठेघर झुण्याएर कस्टकर रुपमा बांच्न बाध्य हुनु पर्थ्यो रे। कतिपय महिला लाई क्यान्सर पनि हुने गरेको थियो रे हुनत तेति बेलाको समयमा क्यान्सर लाई अरु नै रोग भन्ने चलन थियो रे । कतिपय महिलाले बच्चा जन्माउन नसकेर अकाल मै ज्यान जान्थ्यो रे ।

अहिले को जमानामा त बुहारी भन्दा सासु पिडीत छन् भन्ने सुन्न मा आएको छ । अहिलेका आधुनिक सासु हरु चैं बुहारी देखि डराउनु पर्ने अबस्था मा हुन्छन् रे कीनकी बुहारी हरु सहर मैं बसेका हुन्छन् छोरा हरुको काम को सिलसिलामा! 

अनि कहिले कहि गाउ बाट सासु आमा छोरा बुहारी भेट्न सहर आउदा सबै नयां हुन्छ। केहि मेसिनरी सामान चलाउन जानेन भने बुहारी ले गाली गर्ने, बुडीले केहि गर्न जान्दीनन् भन्ने,केहि खाने कुरा छ भने नसोधि खान नमिल्ने, बोल्दा पनि बोल्न जान्दीनन् बुडी नबोल भन्ने , कुनै कुरा बोल्दा अंग्रेजी मिसिएर आयो भने गिज्याउने, मिठो खाने कुरा आफ्नो कोठामा लुकाएर राख्ने, खान छुट्याउने, औषधि खाने पैसा माग्यो भने बचन लगाउने गर्छन् भन्ने सुन्न मा आएको छ ।

आखिर सासु पनि अरुको घर बाट आएकी हुन् र बुहारी पनी अरुको घर बाट नै आएकी हुन् र पनि यो समाजमा दुबै छोरी छोरी बिच कीन यस्तो झगडा र छेडखानि हुन्छ भन्ने अचम्म लाग्छ । दुबै तर्फ बाट  समजदारी भयो भने घर स्वर्ग भन्दा सुन्दर हुने थीयो जस्तो लाग्छ ।

हाम्रो देशमा छोरी मान्छे लाई जबर्जस्ती बलत्कार गर्ने, बलत्कार गरी मार्ने, बलत्कारी लाइ फांसि दिन सक्ने फेरी! एउटा चन्द्र सम्सेर जस्ता देश प्रेमि, छोरी चेली लाइ मायां गर्ने दाजु भाई को जन्म कहिले हुन्छ होला? र न्याय पाइएला भनेर मारीएका छोरी मान्छे हरु र जिउदा छोरी मान्छेहरुले पर्खिरहेका छन्, बाटो हेरी बसिरहेका छन् । 

म त कुनै लेखक पनि हैन कुनै ठुलो मानिस पनि हैन आफु लाइ मनमा लागेका पीडा हरु हजुर हरु माझ पोख्न खोजेको मात्र हो ।

✍️ बिमला अन्जान