नेपालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ लागु भएपछि उच्च शिक्षाको क्षेत्रमा क्रान्तिकारी परिवर्तन भयो । उक्त समयमा सञ्चालित सबै उच्च शिक्षा प्रदान गर्ने कलेज तथा निकायहरू त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस बन्न पुगे । विषयका हिसाबले ५ प्राविधिक अध्ययन संस्थान तथा ५ साधारण अध्ययन संस्थान गठन भए । 

सोही क्रममा कमर्स अध्ययनअध्यापन गराउने मुलुकभरका कलेजहरू क्याम्पसमा परिणत भई व्यापार प्रशासन, वाणिज्य शास्त्र तथा जनप्रशासन अध्ययन संस्थानअन्तर्गत व्यवस्थित भए । यस अध्ययन संस्थानका प्रथम डिनका रूपमा जनप्रशासनविद डा प्रचण्ड प्रधान नियुक्त भएका थिए । उनैको कार्यकालमा पाटन क्याम्पसमा मेरो नियुक्ति भएको थियो । उक्त अध्ययन संस्थानको डिनको कार्यालय कीर्तिपुरबाट २०३३ सालमा पाटन क्याम्पस मीनभवनमा नै भयो । 

सोही समयमा त्रिभुवन विश्वविद्यालयको क्षेत्रीयस्तरमा डिनको कार्यालय राख्ने योजनाअनुसार व्यापार प्रशासन, वाणिज्य शास्त्र तथा जनप्रशासन अध्ययन संस्थानको डिनको कार्यालय विराटनगरमा स्थानान्तरण भयो । यसै समयमा डा प्रधानको पदावधि समाप्त भई उपेन्द्रबहादुर प्रधानाङ्ग डिनमा नियुक्त भए ।

नवनियुक्त डिनलाई विराटनगरमा कार्यालय स्थानान्तरण गरी व्यवस्था गर्ने चुनौती थियो । कार्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी विराटनगर जाने मनस्थितिमा थिएनन् । यसकारण छोटो समयका लागि भए पनि सबै कर्मचारीहरूलाई विराटनगर लगी कार्यालय स्थापना गर्ने सोचमा उपेन्द्र सर हुनुहुन्थ्यो ।

 उहाँले विराटनगर जाने कर्मचारीहरूलाई कामु दिई एक तह पदोन्नति गर्ने र परिवारका सदस्यलाई पनि जागिर दिने आश्वासन दिई विराटनगर लैजाने हुनुभयो । यो त भयो कर्मचारीको कुरा । पाटन क्याम्पसबाटै केही प्राध्यापकहरूलाई केही समयका लागि विराटनगर जान भनिएकोमा एकपछि अर्को बाहना बनाउँदै प्राध्यापकहरू पन्छिए । गोविन्द आचार्य (क्याम्पस प्रमुख) तथा बालकृष्णमान सुवालले मेरो नाम सिफारिस गरे । 

मलाई तुरुन्तै डिन कार्यालयमा बोलाई विषय समितिका विषयमा एउटा अनुसन्धान गर्ने कार्य दिए, २०३२ श्रावणमा । मैले उक्त अनुसन्धान एक महिनामा नै पूरा गरी बुझाएँ । मलाई उक्त अनुसन्धान कार्यमा किरण कोइरालाले सह्रानीय सहयोग गरेका थिए । मेरो यस कार्यबाट डिन साहेबको चित्त बुझेछ । तीन महिनाका लागि विराटनगर लैजाने विचार गर्नुभयो । यसैबेला माधवराज पाण्डे सरले इतिहास विभागमा आउन बारम्बार ताकेता गरिरहनुभएको थियो ।

 मेरो उपेन्द्र सरसितको आत्मीयताका कारण पनि उहाँको प्रस्ताव नकार्न सकिनँ । तीन महिनापश्चात् विभागमा आउने गरी व्यवस्था मिलाईदिन माधवराज सरलाई अनुरोध गरेँ । पाटन क्याम्पसबाटै सहायक प्राध्यापकहरू रत्नमान डंगोल र विद्याप्रसाद राजभण्डारीलाई कामु उपप्रशासक दिएर विराटनगर पठाइएको थियो । डिन कार्यालयकै पशुपतिप्रसाद ढुंगानालाई पनि उपप्रशासक कामु दिई विराटनगरकै महेन्द्र मोरङ क्याम्पसमा ल्याइएको थियो । डिन कार्यालयकै रवीन्द्रराज श्रेष्ठ र मंगलसुन्दर श्रेष्ठ पनि विराटनगरका पुगे । हामी सबै एकै परिवार जसरी एउटै भवनमा बस्यौँ । 

कार्यालय भवन र आवास भवन एउटै हुँदा तथा उपेन्द्र सरको काम गर्ने गराउने स्वभावका कारण कार्यालयमा काम गर्ने समयको कुनै टुंगो नै थिएन । उपेन्द्र सर अन्यत्र जाँदा हामी सबै कर्मचारी दङ्ग पथ्र्यौँ । रत्नमान परीक्षा प्रमुख तथा विद्या राजभण्डारी प्रशासन प्रमुख थिए । सहायक डिनमा विद्यामान शाक्य र नीलकण्ठलाल श्रेष्ठ थिए । हामी सबैमा मेलमिलाप तथा आपसी समन्वय थियो ।  विसं २०३३ भाद्र १ गते रोडशेषचोकस्थित भैरव अर्जेलको भाडाको घरमा डिन कार्यालयको उद्घाटन भयो ।

विराटनगरबाटै परीक्षा सञ्चालन हुने तथा अनुगमन हुने गथ्र्यो । विद्या परिषद् तथा विषय समितिको बैठकलगायतका अन्य कार्य पनि विराटनगरबाटै सञ्चालित थिए । त्यसैले मुलुकभरका सम्बन्धित अध्ययन संस्थानका शिक्षकहरू विभिन्न कार्य प्रयोजनका लागि विराटनगर पुग्थे । डा रामप्रसाद राजवाहक, गोपालमान श्रेष्ठ, सुरेन्द्रबहादुर श्रेष्ठ, ऐश्वर्यलाल प्रधानाङ्ग, मधुनिधि तिवारी, महेन्द्रनारायण मिश्र जस्ता अग्रज प्राध्यापकहरूसितको उठबस र सहकार्यबाट धेरै कुरा सिकियो, जानियो ।

राजबाहक सरको ठट्यौली स्वभाव र उहाँले विभिन्न प्रसंगमा व्यक्त गर्नुभएका उद्गारहरू हालसम्म पनि ताजै छन् । बाहिरबाट आउने प्राध्यापकलाई जोगबनी फारबिसगन्ज घुमाई किनमेल गराउने कार्य हाम्रै थियो । 

यस यात्रामा जाँदा कसैको पाकेट मारिएको, कसैको किनेका मालसामान हराएको तथा भन्सार कार्यालयमा परेको सकस स्मरणयोग्य छन् । अरूणकुमार दास, विश्वेश्वरमान श्रेष्ठ, पशुपतिप्रसाद ढुंगाना, कुन्दन कोइरालालगायतले फारबिसगन्जको मेलामा रातै बिताएका थियौँ । 

डिनको कार्यालयका गतिविधिका कारण केही समय विराटनगर प्राज्ञिक व्यक्तित्वहरूको जमघटस्थल बन्यो । विभिन्न गोष्ठी तथा तालिम सञ्चालन भए । विभिन्न अनुसन्धानका परियोजना कार्यान्वयनमा आए । मन्त्री एवम् विश्वविद्यालयका पदाधिकारीहरूको भ्रमण बारम्बार भयो तर यस्तो रौनक लामो समयसम्म रहेन । विराटनगरमा सञ्चालित कार्यक्रमहरू विभिन्न कारणले काठमाडौँबाटै सञ्चालन हुन थाले । त्यसपछि मुख्य कार्यालय विराटनगर शाखा कार्यालय जस्तो हुन पुग्यो । ब्याक टु मंगलमान कालन्तरमा शैक्षिक विकेन्द्रीकरणको पहल त्रिभुवन विश्वविद्यालयको सफल कदम हुन सकेन ।

म २०३३ साल भदौमा पाटन क्याम्पसबाट काजमा व्यापार प्रशासन, वाणिज्यशास्त्र तथा जनप्रशासन अध्ययन संस्थानको डिनको कार्यालय आएँ, अनुसन्धान तथा योजना शाखाको प्रमुख भएर । मैले विराटनगर आउनुपर्नाका विविध कारणहरू थिए । पहिलो त सेवा गरेकै संस्थाबाट खटाउनु र आफू अस्थायी सेवामा भएकाले जान बाध्य हुनु । दोस्रो पाटन क्याम्पसमा नेपाल परिचय विषय पढाएर मात्र बस्दा आफैँलाई उचित नलाग्नु । तेस्रो डिनको कार्यालयमा हुँदा आनो प्रतिष्ठा नै बढ्ने ठान्नु । चौथो घर पायक पनि पर्नु । र, पाँचौँ सबैले मलाई नै सिफारिस गर्नु ।

विसं २०३३ साल भाद्रमा काठमाडौँँबाट विराटनगर आई जोगमनी रोडमा भैरव अर्जेलको घरमा अवस्थित डिनकै कार्यालयको कोठामा बस्न थालियो । कोठाका साथी भए पशुपतिप्रसाद ढुङ्गाना । उपेन्द्रबहादुर प्रधानाङ्ग डिन हुनुहुन्थ्यो । उहाँका अगाडि काममा लागौँ र केही गरेर देखाऊँ भन्ने धारणा थियो, मेरो । विराटनगरको महेन्द्र मोरङ क्याम्पसलाई आजको अवस्थामा पु¥याउन उपेन्द्रबहादुर प्रधानाङ्गको ठूलो योगदान रहेको छ । मैले उहाँबाट धेरै कुरा सिक्ने मौका पनि पाएँ उहाँकै निर्देशनमा धेरै अनुसन्धान प्रतिवेदन तथा स्थलगत अध्ययन प्रतिवेदन पनि तयार पारियो । विराटनगरमा कृष्ण पोखरेल, भक्तराज आचार्य, गुणराज ढुङ्गेल, गणेश क्षेत्री जस्ता मित्रहरूको स्नेह शुभेच्छा पनि प्राप्त भयो ।

डिन कार्यालयमा प्रशासनिक कार्य गर्दा पठनपाठनतिर पनि ध्यान दिनु आवश्यक थियो । क्षणिक समय प्रशासनमा गएका कतिपय शिक्षकहरूमा पछि अध्यापनतिर वितृष्णा आएका दृष्टान्त पनि छँदै थिए । त्यसैले मैले महेन्द्र मोरङ क्याम्पसमा कक्षा लिने कोसिस गरेँ, स्वयम्सेवकका रूपमा । त्यसबेला आंशिक शिक्षकको प्रावधान नै थिएन । इतिहासमा प्राध्यापकहरूले मलाई कक्षा दिन मानेनन् किन हो उनीहरूले नै जानून् । गणेश क्षेत्रीले मलाई नेपाली इतिहास, संस्कृति एवम् पुरातङ्खव विषयतर्फ इतिहासका पाठ्यांश पढाउन अवसर दिए । दिनको एउटा कक्षा लिने गरँ । विद्यार्थीहरूबीच हिमचिम बढ्दै गयो । पढाउन पाएकोमा खुसी पनि थिएँ ।

एमए प्रथम श्रेणीमा उत्तीर्ण गरेकाले सोझै उपप्राध्यापकमा आवेदन गर्न सक्ने प्रावधान थियो । सोहीअनुसार मैले २०३३ सालमा नै विश्वविद्यालय सेवा आयोगमा आवेदन दिएको थिएँ । धेरैले सहायक प्राध्यापकमा आवेदन दिन सुझाएका पनि थिए । तर, मैले त्यसो गरिनँ । आनो योग्यताप्रति एक किसिमको विश्वास थियो । विसं २०३३ सालको फाल्गुनमा अन्तर्वार्ता पनि भयो । त्यसबेला अन्तर्वार्ताकक्षमा उपकुलपति, डिन, विभागीय प्रमुखलगायत धेरैजनाले अन्तर्वाता लिन्थेँ । भाग्यले साथ दियो । सोधेका जति प्रश्न तथा जिज्ञासाको उत्तर दिएँ । अन्तर्वार्ता दिनेहरू २६ जना थिए । तीमध्ये म मात्र अस्थायी थिएँ । अरू सबै स्थायी र मभन्दा पुराना नै थिए ।

सम्बत् २०३४ सालको असारमा म कार्यालयको कामको सिलसिलामा काठमाडौँँ आएको थिएँ । त्यसबेला विश्वविद्यालयको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा थियो । सेवा आयोगले नतिजा निकाल्ने हल्ला दिउँसै चलिसकेको थियो । त्यसबेला भोटेबहालमा धनकुटाका साथीहरूसँग बस्थेँ । रूद्र बस्नेत र म राति त्रिपुरेश्वर गयौँ, सूचनापाटी हेर्न । सडकबाटै हेर्न मिल्नेगरी जालीभित्र सूचना टाँसिएको हुन्थ्यो । बाहिरबाट ताला लगाएको तर हेर्न चाहिँ मिल्ने । सेवा आयोगले नतिजा प्रकाशन गरेको रहेछ । तर, राम्ररी टाँस नहुँदा माथिबाट केही नाम छोपिएछ । मेरो नामै देखिएन । मलाई भाउन्न होला जस्तो भयो । रुद्र बस्नेतले फु गरेर कागज पल्टाउँदा पो एक नम्बरमै मेरो नाम रहेछ । इतिहासमा हामी तीनजना सफल भएका थियौँ । म, विमला श्रेष्ठ र रामशरण साख । ज्यादै खुसी लाग्यो रातभरि निन्द्रा पनि लागेन । निद्रा खुसी र दुःख दुइटैमा लाग्दो रहेनछ । मलाई पहिलोपटक यस्तो अनुभव भयो ।

स्थायी भएपछि कीर्तिपुर इतिहास विभागमै जाने मन थियो, मेरो । भोलिपल्ट नै मैले मानविकीका डिन पार्थिवेश्वरप्रसाद तिमल्सिनालाई एयरपोटमा भेटेँ । त्यसबेला मानविकीको डिन कार्यालय पोखरामा थियो । उहाँले उपेन्द्र डिनले तिमीलाई काजमा विराटनगर नै पठाइदिनू भनेका छन् भन्नुभयो । मैले कीर्तिपुर आउने विचार गरेको कुरा सुनाएँ । ६ महिनापछि सरुवा गरौँला अहिले जाऊ भन्नुभयो । मलाई पनि उहाँका कुरा ठीकै लाग्यो । पार्थिवेश्वर सरसित म विद्यार्थी हुँदादेखि नै परिचय थियो । एउटा अचम्मको संयोग परिचय गराउने माध्यम अनौठो थियो । खैनीको अम्मल । 

म २४ वर्षको उमेरमा नै विश्वविद्यालयमा स्थायी भएँ । तर, अचम्म के भयो भने यसमा खुसी हुने कमै भेटिए । इष्र्या गर्नेहरू धेरै थिए । सायद मानिसको स्वभाव नै यस्तो हुँदो रहेछ, आफू दुःखी भएकामा भन्दा अरू खुसी भएकोमा जलन बढी हुँदो रहेछ । विराटनगरबाट धेरैजनाले उपप्राध्यापकको परीक्षा दिएका थिए तर उत्तीर्ण हुनेमा अर्थशास्त्रमा भेषप्रसाद धमला र इतिहासमा म मात्रै भयौँ । विराटनगरभरि समाचारको विषय बन्यो । त्यसबेला उपप्राध्यापकको इज्जत निकै ठूलो थियो । सायद सङ्ख्या कम भएकाले होला । 

डिन कार्यालयमा मेरो कामको बोझ बढ्यो । उपेन्द्र सरको प्रिय पात्र भएँ । मेरो अनुहार हेरेर होइन काम हेरेर नै मन पराउनुभएको होला जस्तो लाग्छ । त्यसबेलाका सहायक डिनहरूले पनि मलाई रुचाएका थिए । विद्यामान शाक्यपछि शिवमंगल गुरुङ सहायक डिन हुनुभयो । यही समयमा डिनको कार्यालय भाडाको घरबाट महेन्द्र मोरङ क्याम्पस परिसरमा निर्माण भएको भवनमा स¥यो । माधवराज कोइराला (प्राडा माधवराज कोइराला) पोखराबाट सरुवा भई डीनको कार्यालयमा आउनुभयो ।   तत्पश्चात भने प्रशस्त अनुसन्धानका कार्यहरू  भए । शिवमंगल गुरुङ साह्रै सज्जन, सहृदयी तथा सहयोगी हुनुहुन्थ्यो, चाँडै बित्नुभयो । उहाँलाई हार्दिक श्रद्धासुमन !

विराटनगर महेन्द्र मोरङ क्याम्पसमा रामलाल गोल्छाले बनाइदिएको ८ कोठा भएको छात्रावास थियो । उक्त छात्रावासको सुपरीवेक्षक मलाई नियुक्त गरियो । आठवटा कोठामध्ये सातवटा कोठामा ३ जनाका दरले २१ जना विद्यार्थी थिए । एउटा कोठा सुपरीवेक्षकलाई छुट्याइएको थियो । मैले पशुपति ढुङ्गानालाई पनि आफूसँगै लिएर गएँ । विराटनगरमा रहँदा हामी बिहानको खाना बाजेको होटलमा खान्थ्यौँ भने बेलुका प्रकाश माडबारीको होटेलमा । छात्रावासमा बसेपछि त्यहीँको मेसमा खाना खान थालियो ।

 छात्रावासमा बस्नेहरू एक परिवार जसरी बसेका थियौँ । छात्रावास बस्दाकै घटना हो– एकजना विद्यार्थीलाई मैले लामो हात गर्दागर्दै समातेको थिएँ । पछि ती ठूला मानिस पनि भए । यो कुरा उनी र मबाहेक अरू कसैलाई कहिल्यै थाहा भएन । विराटनगर बस्दा सिनेमा कुनै पनि छुटाइएन । जलजला, हिमालय, रानी सबैतिरका हलमा पुगिन्थ्यो । फारबिसगन्ज मेलामा रातभरि पनि बिताइयो । विराटनगर बसाइकै क्रममा गणेश क्षेत्रीसित मिलेर युरोपको इतिहास भन्ने पुस्तक पनि लेख्यौँ । त्यो पुस्तक म काठमाडौँँ आएपछि मात्र प्रकाशित भयो । त्यसको दोस्रो संस्करण निस्किएको छैन ।

उपेन्द्रबहादुर प्रधानाङ्ग र पछि मोहनप्रसाद उपाध्याय डिन भएर आउनुभयो । उहाँले पनि मलाई रुचाउनुभयो । विराटनगरमै बस्न कर पनि गर्नुभएको थियो तर मेरो मनमा काठमाडौँँ गई उच्च अध्ययन गर्ने धोको थियो ।

विसं २०३३ साल भाद्र महिनामा तीन महिनाका लागि विराटनगर गएको थिएँ । पूरै चार वर्ष विराटनगरमा बसियो । विराटनगर बस्दा धेरै सिकियो, जानियो । जोडी पनि बाँधियो । विराटनगरमा रोडशेष, होस्टेल, जनपथ र शिक्षक आवास गरी चार स्थानमा बसियो । तीन महिना ६ महिना गर्दागर्दै समय बितेको पत्तै भएन । जनमतसंग्रहकै समयमा इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको सहकार्यमा ललितपुरमा सञ्चालित एक महिने आवासीय विषयगत तालिम विशेष उल्लेख्य रह्यो ।

उपेन्द्र सरसित त्यसपछि पनि धेरै अनुसन्धान कार्य तथा अन्य प्राज्ञिक कार्यमा साथै रहने अवसर पाएँ । हालसम्म पनि उहाँसितको सम्पर्क छँदै छ । तत्कालीन सहायक डिनहरू विद्यामान शाक्य, नीलकण्ठलाल श्रेष्ठ र विद्याप्रसाद राजभण्डारीको निधन भइसकेको छ । उहाँहरूप्रति हार्दिक श्रद्धान्जली । काठमाडौँ आएपछि पनि व्यवस्थापन अध्ययन संस्थानसितको सम्पर्क टुटेन । लामो समयसम्म उक्त अध्ययन संस्थानमा कार्यरत भएकाले धेरैले मलाई वाणिज्य शास्त्रकै शिक्षक सम्झेका थिए । मैले उक्त समयमा सहकार्य गरेका सबै अग्रज एवम् कनिष्ठ सहकर्मीसित समेत सम्पर्क छँदै छ ।

डिनको कार्यालयमा रहँदा मलाई सहयोग गर्ने शान्ति रिमाल चापागाई, नवीन अधिकारी, मदन श्रेष्ठ, किशोर श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, भूपेन्द्रप्रसाद खनाल, होमनाथ दाहाल, माधवराज कोइराला तथा वीरेन्द्र खड्का जस्ता सहकर्मी मित्रहरूप्रति आभारी छु । विराटनगर बसाइ मेरा लागि धेरै कुराले सम्झनलायक थियो । विराटनगर बसाइकै क्रममा मेरो विवाह भएको थियो भने पिता बन्ने सुअवसर पनि त्यहीँ प्राप्त भयो । नेपालको शैक्षिक प्रशासन र अनुसन्धान तथा उच्च शिक्षाको ऐतिहासिक क्रम बुझ्न पनि विराटनगर बसाइ सार्थक रह्यो । त्यहाँ रहँदा गर्मीको महिनामा बिजुली नहुँदाको सकस पनि अनुभव भयो । मोटरसाइकल सिक्ने तथा सवारीचालक अनुमतिपत्र लिने काम पनि सोही समयमा भएको थियो ।

त्यसबेला नै नेपालका विभिन्न भागका क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरू तथा विश्वविद्यालयका पदाधिकारीहरूलाई नजिकैबाट चिन्ने अवसर प्राप्त भयो । प्राडा पेशल दाहाल, प्राडा कमल उपाध्याय (हाल अमेरिका) पशुपतिप्रसाद ढुंगाना, रत्नमान डंगोल, रवीन्द्रराज श्रेष्ठ जस्ता सहृदयी मित्रसित  त्यसबेला स्थापित मित्रता हालसम्म पनि झाँगिएको झाँगिएकै छ ।

 ✍️  प्राडा तीर्थप्रसाद मिश्र